कलेजको वार्षिकोत्सवमा
मङ्सिर ५ गतेदेखि म नियमित कलेज जान थालेँ । हाम्रो पढाइ पनि दशैँतिहारको बिदा पछि ५ गतेदेखि मात्रै राम्रोसँग सुरु भएको रहेछ । एकदिन ठुलो मामा रामेश्वरलाई घरमा बोलाएर नाला भगवतीका बारेमा अझ थप कुरा बुझेर उहाँका भनाइलाई रेकर्डिङ गरेँ ।
मङ्रसिरको १७ गते अपाङ्ग दिवसको कार्यक्रम ख्वप कलेजमै आयोजना गरिएको थियो । म भने सधैँको समयमा कलेज गएँ । किनकि कार्यक्रम १० बजेपछि मात्र सुरु हुन्थ्यो । अन्तिम पिरियडमा प्रिन्सिपल सरले मलाई पढ्ने कि बाहिर कार्यक्रममा जाने भनेर सोध्नुभयो । मैले कक्षा सकिएपछि मात्र जाने भनेँ । साढे दशमा हाम्रो कक्षा सकियो । आमा आइपुग्नुभएको थिएन । त्यसैले मलाई प्रिन्सिपल सरले नै कार्यक्रममा लगिदिनुभयो । एकछिनमा आमा आइपुग्नुभयो भने कार्यक्रम पनि सुरु भयो । खेलहरू खासै त्यति धेरैं थिएनन् । त्यहाँ खाना खुवाउँदा ढिला हुन्छ कि भनेर मलाई आमाले क्यान्टिनमा लगेर खाजा खुवाउनुभयो । मैले खेल्ने खेल भने यस पटक थिएन तर पनि एकातिर बास्केटबल प्रतियोगिता र अर्कातिर अरू खेल तथा नाचगानहरू भइरहेका थिए । म ह्विलचियरमै बसेर हेर्दै थिएँ । मेरा आँखा भने घरी घरी गेटमा मात्र हेर्न जान्थे । किनभने मैले योगेश दाइ र प्रवीण दाइलाई कार्यक्रम हेर्न आउने कि भनेर सोधेकी थिएँ । उहाँहरूले भ्यायौँ भने एकछिन भए पनि हेर्न आउँछौँ भन्नुभएको थियो । १२ बजेतिर खाना खान बोलाइयो । हामी पनि खान गयौँ । हामी खाना खाँदै गर्दा दाइहरू आउनुभयो । हामीसित एकछिन कुराकानी गरेर उहाँहरू खेल हुँदै गरेको फोटो खिच्न उता जानुभयो । फोटो खिचिसकेर एकछिनमा उहाँहरू फर्कनुभयो । समय निकै भएको थियो । बिहानदखि यत्तिकै कलेजमा बस्नुपर्दा मलाई पनि असहज हुँदै थियो । त्यसैले १ बजेतिर, कार्यक्रम सकिनुअघि नै म आमासँग घर फर्किएँ ।
कलेजमा पढ्ने र घरमा आएर संस्कृति ४२७ का लागि नाला भगवतीको बारेमा अनुसन्धानका लागि लिइएको अन्तर्वार्ताको रेकर्डिङ सुनेर त्यसलाई मिलाएर लेख्ने गर्थेँ म । यसो गर्दा नबुझेको कुरा ठुली माइजू रजनीलाई मेसौन्जरमार्फत सोध्ने गर्थेँ ।
२०८० पुस २ गते बहिनीको जन्मदिन परेको थियो । यस अवसरमा मैले केही दिनअघि नै श्वन्ती बहिनीलाई उपहार किनेर ल्याइदेऊ भनेकी थिएँ । दिउँसोतिर श्वन्ती बहिनी उपहार लिएर घरमा आइन् । त्यसदिन मेरी बहिनी कलेज गएकी थिइनन् । मैले बहिनीलाई उपहार दिएँ । बेलुकी हामी परिवारका चारजना, भाइहरू सन्दीप, सुदीप, र सानो भदा होटलमा खान गयौँ । मैले चीनचार वर्षअघि पनि बहिनीलाई एउटा उपहार दिेएकी थिएँ ।