पाल्पा यात्रा
भन्दाभन्दै हामी पाल्पा घुम्न जाने दिन पनि आयो । कात्तिक ३० गते बिहान ६:४५ तिर हामी सबै विवेक दाइले चलाउने गाडीमा बसेर यात्राको आरम्भ गर्यौँ । १२ बजेतिर चितवनको जलबिरे झरनामा पुगियो । त्यहाँ हामीलाई विवेक दाइले लानुभएको थियो । सानो अलि बिग्रेको बाटो र थोरै खुटुकिला रहेछन् त्यहाँ । त्यसैले मलाई बा, मामा र विवेक दाइले बिस्तारै ह्विलचियर समातेर झरना भएको ठाउँमा पुर्याउनुभयो । त्यहाँ एउटा पोखरीजस्तो दह पनि रहेछ । साथै लामो झरना बगिरहेको थियो । हामी एकछिन घुमेर त्यहाँबाट नवलपरासीको शाश्वतधाम गयौँ । त्यहाँ पहिलाको भन्दा थोरै परिवर्तन भएको पाएँ मैले । हामी त्यहाँ पुग्दा दिउँसोको करिब २:३० बजेजति भयो । त्यहाँ घुमेर हामी बाटो लाग्यौँ । त्यसपछि रिडी गयौँ । हामी रिडी पुग्दा रातिको १० बजे भयो । त्यहाँको एउटा लजमा गएर खानासाना खाएर हामी सुत्यौँ ।
मङ्सिर १ गते बिहान ८:३० बजेतिर हामी हिँडेरै तीनवटा जिल्ला जोड्ने कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुल जानका लागि तयार भएर अगाडि बढ्यौँ । तर त्यस बाटोबाट मेरो ह्विलचियर लान नमिल्ने भयो । फेरि फर्केर अर्कै बाटोबाट गयौँ । त्यहाँ पाल्पा, गुल्मी र स्याङ्जा यी तीनवटा जिल्ला जोड्ने गरी बनेको सुन्दर झोलुङ्गे पुल छ । त्यहाँको कालीगण्डकी नदीमा एकछिन खेलेर त्यहीँबाट हामी ऋषिकेश मन्दिर गयौँ । मन्दिरको प्रवेशद्वारबाट मन्दिरसम्म जानलाई खुट्किलाहरू थिए । बा र मामाले मलाई बिस्तारै ह्विलचियर तान्दै लानुभयो । त्यहाँ एउटा अलि ठुलो मन्दिर र अरू ससाना मन्दिरहरू छन् । मन्दिरमा पुगेर हामी पूजा गरेर फर्क्यौँ अनि उही तीनवटा जिल्ला जोड्ने गरी बनेको झोलुङ्गे पुलमा गयौँ । त्यहाँ एकछिन रमाइलो गरेर रुरुकन्या भएको ठाउँमा गयौँ । त्यो ठाउँ अलि जङ्गलमा थियो । त्यहाँ पनि खुट्किला नै रहेछन् । खुट्किलामा बाले लानुभयो । त्यहाँ देवदत्त ऋषिको मूर्ति, मृगले मानिसको बच्चालाई दुध खुवाइरहेको मूर्ति र एउटी कन्या अर्थात् रुरुकन्याको पनि मूर्ति थिए । चियानास्ता गरेर हामी पाल्पाको रानीमहलतर्फ लाग्यौँ । त्यहाँ रानीमहलको प्रवेशद्वार जाने खुट्किलामा भने मलाई मामाले बोकेर लानुभयो र माथि पुगेपछि ह्विलचियरमा राख्नुभयो । रानीमहलको बाहिर एकछिन घुमेर हामी भित्र गयौँ । त्यहाँ विभिन्न राजाका तस्बिर राखिएका रहेछन् । पहिला हामी राजाहरूको तस्बिर भएको ठाउँमा हेर्न गयौँ । त्यसपछि हामी एकतलामाथि गयौँ । माथि चढ्ने खुट्किलामा बा, मामा र विवेक दाइ मिलेर मलाई ह्विलचियरसमेत माथिल्लो तलामा पुर्याउनुभयो । एकछिन घुमेर फेरि हामी तलै झर्यौँ । तल बाहिर सुन्दर बगैंचा थियो । जनिकै बगिरहेको कालीगण्डकी नदीमा झर्यौँ । बा, मामा र बहिनी भने नदीनजिकैसम्म जानुभयो । म, आमा, आस्था माइजू र सानो नानू भने नदी नजिकैसम्म गएनौँ । त्यहाँका सबै दृश्यको राम्ररी अवलोकन गरिसकेपछ हामी पाल्पा दरबार हेर्न गयौँ । दरबार पुग्दा बेलुकाको ४ बजेजति भयो । त्यहाँ एकतलामाथि खुट्किलामा मलाई लैजान अलि गाह्रो थियो किनभने खुट्किला साना र ठाडा रहेछन् । तर पनि बा, मामा र विवेक दाइ भएर मलाई ह्लिलचियरसमेत माथि पुर्याउनभयो । त्यहाँ भने विभिन्न कोठामा विभिन्न सामग्रीहरू थिए । जस्तै, एउटा कोठामा पुराना भाँडाकुँडा, एउटा कोठामा राजारानीहरूका तस्बिर, एउटा कोठामा त अझ बिहे गर्ने यज्ञमण्डप पनि थियो । एउटा कोठामा वृत्तचित्र देखाइने रहेछ । हामीले १४ मिनेटको वृत्तचित्र पनि हेर्यौँ ।
यो दरबार तत्कालीन राणा जनरल प्रताप शमशेर पाल्पा तैनाथवाला भएर आएपछि त्यहाँ पहिले रहेको जीर्ण भवन भत्काएर अहिलेको दरबारको स्वरूपमा १९८०–८१ मा निर्माण गरेका रहेछन्। दरबारलाई त्यसबेला प्रशासनिक मुख्यालयको रूपमा प्रयोगमा ल्याइएको रहेछ । २०६२ तिर तत्कालीन माओवादी आक्रमणबाट ध्वस्त दरबारका पुरातात्त्विक, ऐतिहासिकता र कलाकौशललाई कतै नबिगारीकन पुनःनिर्माण गरिएको रहेछ । यो दरबार चारतले हुनुका साथै ६३ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेका छन् भन्ने जानकारी पनि पाइयो ।
त्यहीँ नजिकै रणउजीरेश्वरी भगवतीको मन्दिर रहेछ, त्यहाँ पनि गएर दर्शन गर्यौँ । यस मन्दिरभित्रसम्म गएर पूजा गरेर फर्क्यौँ । तानसेन बजारमा एउटा ठुलो करुवा र एउटा अष्टमण्डलको त्वारिवा (पानस) पनि राखिएको छ । हामीले सबै ठाउँमा फोटो र भिडियोहरू पनि खिच्यौँ । तानसेनका पसभसन्न स्थान घुमिसकेपछि हामी पोखरा गयौँ । पोखरा पुग्दा बेलुकीको ७ नाघिसकेको थियो । हामी देवन्द्र अङ्कलकोमा बस्न गयौँ ।
मङ्सिर २ गते बिहान ७ बजेतिर हामी हाम्रै गाडी चढेर पोखराका केही प्रसिद्ध स्थानहरू घुमेर अङ्कलकै होटलमा फर्क्यौँ । उहाँले हामीलाई खाना खुवाउनुभयो । खाना खाएर केही समय आराम गरेपछि हामी घर फर्कने तयारीमा लाग्यौँ । तर बहिनी भने उनको कलेजको कामले गर्दा त्यहीँ नै केही दिन बस्ने भइन् । त्यसैले फर्किँदा हाम्रो टोलीको एकजना सदस्य घट्यो । फर्किने क्रममा हामी बेगनास ताल हेर्न गयौँ । तालमा म झन्डै खसेकी । बाले मलाई तालको छेवैमा राखेर एकछिन उता जानुभएको थियो । मेरो ह्विलचियर अलि पुरानो भएकाले ब्रेक राम्ररी नलागेर चिप्लेर गयो । तर धन्न ह्विलचियर तालमा चाहिँ खस्न पाएन । म बल्ल बल्ल बचेँ । मैले ईश्वरलाई धन्यवाद भनेँ ।
हामी त्यहाँ एउटा होटलमा खाजा खान गयौँ तर खाजा खाँदाखाँदै मलाई एकदमै पेट दुखेर ट्वाइलेट जान हतार भयो । बाले होटलको साहुजीलाई त्यहाँ बसेर गर्ने ट्वाइलेट (कमोट भएको) छ कि भनेर सोध्नुभयो । किनकि मलाई अरू ट्वाइलेटमा दिसा गराउन मिल्दैनथ्यो। साहुजीले एक तलामाथि छ भनेपछि आमाले मलाई बोकेर लगेर ट्वाइलेटमा दिसा गराउनुभयो । त्यहाँबाट केही समयपछि हामी भक्तपुरका लागि प्रस्थान गर्यौँ । बाटामै रात परिसकेकाले बेलुकी बाटाकै एउटा होटेलमा खाना खाएर घरतर्फ लाग्यौँ । घर पुग्दा रातिको झन्डै दश बज्न लागिसकेको थियो ।