नमोबुद्धमा पुग्दा

अब हाम्रो कलेजको पढाइ सकिन तीनचार महिना मात्र बाँकी थियो । साथीहरू सबै मिलेर म पनि जान सक्ने ठाउँमा एकदिनको भ्रमण जाने निर्णय भयो । ठाउँ सबैले नमोबुद्धलाई रोजे ।

७ गते म र आमा बिहान ८ बजेतिरै कलेज गयौँ । तर भ्रमण जानलाई एकदम कम साथीहरू मात्र आइपुगेका रहेछन् । थोरै भए पनि हामी बिहान ८:३० तिर नमोबुद्धका लागि प्रस्थान गर्‍यौँ । त्यहाँ पुग्दा ९:४५ बज्यो । हामीले मन्दिर गएर पूजा गर्‍यौँ । त्यहाँ बाघलाई मान्छेले आफ्नो मासु काटेर ख्वाइरहेको मूर्ति विशेष आकर्षक र महत्त्वपूर्ण थियो । हामी माथि गयौँ । माथि जानलाई खुट्किलाहरू थिए त्यसैले सरम्यामहरूले मलाई पछाडिको बाटोबाट लैजानु भन्नुभयो । तर साथीहरूले पर्दैन, हामी यहीँबाट लान्छौँ भनेर मलाई पालैपालो ह्विलचियर समातेर माथि लाने भए । आमाले साथीहरूलाई बिचबिचमा चक्लेट, पुष्टकारीलगायतका खाने कुराहरू दिँदै मलाई माथिसम्म पुर्‍याइयो । तल मन्दिर थियो भने माथि चाहिँ बाघलाई मान्छेले आफ्नो मासु काटेर ख्वाइरहेको मूर्ति थियो । हामीले त्यहाँ एक ठाउँमा बसेर खाजा खायौँ । त्यसपछि गुम्बामा गयौँ । हामी एउटा अर्को ठाउँमा गयौँ । त्यहाँ हामीले सरम्यामहरूलाई भेट्यौँ । त्यो ठाउँमा भने साथीहरू मात्र गए किनकि त्यहाँ हेर्ने खास केही थिएन । हामीले फोटोहरू पनि खिच्यौँ । साढेतीनतिर हामी नमोबुद्धबाट घर फर्क्यौं ।

चौथो वर्षको दोस्रो टर्म आउन लागेको थियो । त्यसैले सरम्यामहरूले अलि धेरै पढाउन थाल्नुभयो । १४ गते बिहान म बाआमासँग मामाघर गएँ । किनभने त्यहाँ गुठीको भोज थियो । दिउँसो आमाबा, सानिमाहरूलगायत सबै नालाको ब्रह्मा मन्दिर घुम्न गयौँ । त्यहाँ ब्रह्माको ठुलो मूर्ति र विष्णुका १० अवतारका ससाना मूर्तिहरू थिए । विश्वमै भगवान् ब्रह्मका मन्दिर र मूर्ति दुर्लभ मानिन्छन् । यहाँ भने ब्रह्माको सुन्दर मन्दिर छ । एकछिन घुमेर घर फर्क्यौं । बेलुका ४ बजेतिर बहिनीले मलाई बोकेर अर्को कोठामा लगिन् । किनकि हामी भाइबहिनीहरू मात्र बसेर एउटा सामूहिक फोटो खिच्नलाई । एकछिनमा भोज खाएर बेलुकी हामी घर फर्क्यौँ ।

पुस २८ गतेदेखि माघ १ गतेसम्म समाजशास्त्र पढ्ने विद्यार्थीहरूलाई परियोजना कार्यका लागि कलेजबाट चितवन लगियो ।

Profile Image